PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

संचालन प्रणालीसँग सम्बन्धित केही शब्दावली - भाग १

E-mail Print PDF

संचालन प्रणालीसँग सम्बन्धित केही शब्दावली 

(Some Operating System Terminology)

भाग १
 

(Files, File Name, Directory, Folder, Volum Label, Batch File, Booting, Warm Booting, Cold Booting, Drive Name, Default Drive, Command, Internal Command, External Command)
 

कम्प्युटर संचालन प्रणाली (Operating System) सँग सम्बन्धित केहि आधारभुत र थाहा पाउनै पर्ने खालका केहि शब्दावलीको परिचय यस पृष्‍ठमा दिन खोजिएको छ। यी शब्दहरु अङ्ग्रेजी भाषामा नै प्रचलित भैसकेकाले अधिकतर रुपमा तिनै शब्‍दहरुलाई नै प्रयोग गरिएको छ। कुनै शब्दको उपयुक्त र सर्वमान्य अनुवाद भएमा र उक्त शब्द प्रयोग गर्दा बढी उपयुक्त हुने देख्‍नुहुन्छभने कृपया हामीलाई सुचित गर्नुहुन अनुरोध गर्दछौं।
 

Files (फाइल)

"A file is a collection of related information"

कम्प्युटरमा कुनै पनि सामाग्री (चाहे त्यो अंक, अक्षर प्रयोग भएको पाठ्य होस् वा ध्वनी, चित्र जस्ता श्रव्य दृष्य हुन्) सृजना गरेपछि भविश्‍यकोलागि उपयोगी हुनसक्छ भनी संग्रह गरिएका कुनैपनि सामाग्रीलाई फइल भनिन्छ। कम्प्युटरमा प्रत्येक फइलले भण्डारण साधनमा केहि स्थान ओगटेको हुन्छ भने यसका नाम, सृजित मिति समय तथा अन्य केही विषेशताहरु पनि हुन्छन्। यदि तपाईले पेन्ट प्रोग्राम प्रयोग गरेर एउटा चित्रकोर्नुभयो र त्यसलाई सेभ गर्नुभयो भने एउटा फाईल तयार भयो। त्यसैगरी वर्ड प्रोग्राम सुरु गरेर चिठी टाइप गर्नुभयो र त्यसलाइ सेभ गर्नुभयो भने त्यो पनि फइल भयो।
 

केही फाइलहरु कम्प्युटर प्रयोगकर्ताले आफ्नो आवश्‍यकता अनुसार निर्माण गरेको हुन्छ भने केही कम्प्युटरमा कुनै प्रोग्रम संचालन गर्न चाहिने प्रोग्राम निर्मातालेनै निर्माण गरेका पनि हुन्छन। केहि फाइलको उपयोगिता प्रयोगकर्तालाई हुन्छ भने केहि विभिन्न प्रोग्रामहरुलेनै प्रयोग गर्नुपर्ने र प्रयोगकर्तासँग सिधै सम्बन्ध नरहेका हुन सक्छन्। प्रयोगकर्ताले बनाएका वा उपयोग गर्ने फाइलहरु (जस्तै चिठीपत्र, रिपोर्ट, बजेटशिट, मार्कशिट, एम पी थ्री संगीत, भिडियो, एनिमेशनहरु) लाई युजर फाइल भनिन्छ भने कम्प्युटर प्रोग्रामहरुलेनै प्रयोग गर्ने फइलहरुलाई सिस्टम फईल भनिन्छ।
 

File Name (फाइलको नाम)

कम्युटरमा निर्माण गरेर भंडार गरेका सामाग्रीहरु खुट्याउन र पछि प्रयोग गर्नुपर्दा उल्लेख गर्ने प्रयोजनकोलागि प्रत्येक फाइललाई एउट नौलो नाम दिइएको हुन्छ। जुन नामले भंडारण भएको कुनै फइललाई जनाउँछ त्यही नामलाई फाइलको नाम भनिन्छ। केहि वर्ष पहिले (माइक्रोशफ्ट विन्डोज ९५ को आगमन भन्दा अघि) सम्म फाइलको नाम राख्दा ८ अक्षर सम्मको नाम र ३ अक्षर सम्मको विस्तार (फइलको प्रकार) राख्‍नुपर्ने तथा स्पेस र चिन्हहरु प्रयोग गर्न नपाइने बाध्यता थियो। कतिपय प्रोग्रामहरुमा त्यो सीमा अझैपनि लागु छ। फाइलको नामको नाम र प्रकारको अंशलाइ एउटा थोप्लो (पिरियड वा डट) ले छुट्याउने गरिन्छ।
 

Directory or Folder

"Directory is the table of contents of a disk that records the files and other subdirectories inside it."
 

सबैप्रकारका फाइलहरुलाई एकैठाउँमा भण्डार गर्दा तिनको व्यवस्थापनमा कठिनाइ हुने हुनाले एक अर्कासँग संबन्धित फाइलहरुको छुट्टै समुह बनाइ भेटाउन सजिलो हुनेगरी भिन्नै क्षेत्र तोकेर भण्डार गरिएको हुन्छ। त्यसरी एकैप्रकारका फाइलहरु भण्डारण गर्ने भिन्न क्षेत्रलाई डाइरेक्टरी वा फोल्डर भनिन्छ। डस अपरेटिङ सिस्टमले डाइरेक्टरी भनिरहेकोमा विन्डोजमा उक्त भण्डार एकाइको पक्षलाई फोल्डर भन्न थालियो। उदाहरणको लागि कुनै कलर ल्याबमा धुल्याउन ल्याएका फोटोका सबै फाइलहरुलाइ ग्राहकको नाममा फोल्डर बनाइ त्यस भित्र भण्डार गरिन्छ। विण्डोज प्रणालीमा पनि विण्डोजका आफ्ना फइलहरुलाई Windows नामको फोल्डर भित्र र जडान गरिएका अन्य प्रोग्राममा फाइलहरुलाई Program Files भन्ने फोल्डर भित्र आवश्‍यक अन्य फोल्डर बनाएर राखिएको हुन्छ। त्यस्तै सिस्टमले प्रयोगकर्ता सँग सम्बन्धित फाइलहरु Document and Settings नामको फोल्डर भित्र सुरक्षित गरिएको हुन्छ।
 

एउटा डाइरेक्टरी भित्र अनगिन्ती फाइलहरु र अन्य सव-डाइरेक्टरीहरु हुन सक्छन्। डाइरेक्टरीले फाइल सम्बन्धि विभिन्न तथ्याँक रेकर्ड गरेको हुन्छ जसले गर्दा आवश्‍यक पर्दा फाइल खोज्न र प्रयोग गर्न सजिलो हुन्छ।
 

Volume Label (भोलुम लेवल)

कुनैपनि भण्डारण साधनलाई पहिचान गर्न सजिलो होस् भनेर कुनै नाम दिइएको हुन्छ जसलाइ भोलुम लेवल भनिन्छ। उक्त भोलुम लेवल विन्डोजमा भए My Computer को फोल्डरमा ड्राइभको पहिचान स्वरुप देखाइएको हुन्छ भने डसमा Vol Command दिएर हेर्न तथा डाइरेक्टरी लिस्टको हेडरमा हेर्न सकिन्छ।
 

Batch Files (ब्याच फाइल)

"DOS program files are batch files. The tasks that needs to be repeated frequently are stored as a batch and the whole tasks are are executed automatically after the batch file is executed"

ब्याचफाइल भन्नाले डसका प्रोग्राम फाइलहरुलाई बुझाउँछन्। पटकपटक एउटै क्रममा दोहोर्‍याइरहनु पर्ने निर्देशनहरुलाई संग्रह गरी एउटा फाइल निर्माण गरिन्छ जसले गर्दा पटकपटक ती निर्देशनहरु टाइप गरेर अह्राइरहनु पर्दैन, केवल उक्त फाइलको नाममात्र टाइप गरे पुग्छ। यसप्रकार काम छोट्याउनको लागि आवश्‍यक सबै निर्देशनहरु क्रमवद्धगरी तयार पारिएको फाइलनै ब्याच फाइल हो। यी फाइलहरुलाई .bat एक्स्टेन्सन (फाइल प्रकार सुचक) दिइएको हुन्छ। यसरी बनाएका ब्याच फाइलका नामहरुनै नयाँ command (निर्देशन) बन्न जान्छन् र फाइलको नाम मात्र टाइप गरी इन्टर गर्दा उक्त फाइल भित्र भएका प्रत्येक निर्देशन एक पछि अर्को गर्दै संचालित हुन्छन र काम स्वचालित बन्न पुग्छ।
 

Booting (बुटिङ)

बुटिङ भन्नाले कम्प्युटरलाइ प्रयोग गर्न तयार गर्ने प्रकृयालाई बुझिन्छ। कम्प्युटर तयारी अवस्थामा आउन संचालन प्रणाली (Operating System) का केही अत्यावश्‍यक फाइलहरु यसको मुख्य स्मरण एकाइमा लोड हुनु पर्छ। अरु संपूर्ण फाइलहरु जस्तै संचालन प्रणालीका फाइलहरु पनि स्थायी भण्डारण एकाइ (Secondary Storage Unit such as disks) मा रहेका हुन्छन् तर कम्प्युटर संचालन गर्न  आवश्‍यकताअनुसार विभिन्न फाइलहरु स्थाइ भण्डारण एकाइबाट मुख्य स्मरण एकाइमा उतारिनु पर्दछ। संचालन प्रणालिका अतिआवश्‍यक केहि फाइलहरुलाइ मुख्य स्मरण एकाइमा उतार गरिने प्रकृयालाइ चाहिँ  बुटिङ भनिन्छ।
 

डस अपरेटिङ सिस्टमको कुरा गर्दा Command.com, io.sys र dos.sys यसका अत्यावश्‍क फाइलहरु हुन र यीनलाई मुख्य स्मरण एकाइ (RAM) मा लोड गरेपछिमात्र कम्प्युटर निर्देशनहरु बुझ्न र संचालन गर्न सक्षम हुन्छन्। त्यस्तै विन्डोजमा पनि यी फाइलहरुका अलावा अरु थुपै फाइलहरु मुख्य स्मरण एकाइमा लोड गरेपछिमात्र विन्डोज प्रयोगकर्तासँग सहकार्य गर्न सक्ने हुन्छ।


Warm Boot (न्यानो अवस्थाको बुट)
 

कम्प्युटर संचालन भैरहेकै अवस्थामा संचालन प्रणाली पुनर्ताजगी गरियो भने यसप्रकारको बुटिङलाइ वार्म बुट भनिन्छ। यस्तो बुट कुनै कारणले कम्प्युटर किंकर्तव्यविमुड (hang) भयो भने वा कुनै अन्यकारणले फेरी सुरु गर्नुपर्दा कम्प्युटरको विद्युत प्रणालीलाई नटुटाइ गरिन्छ।

 

Cold Boot (चिसोअवस्थाको बुट)
 

बन्द अवस्थामा रहेको कम्प्युटरलाइ बुटिङ गरी तयार पर्ने प्रकृयालाई कोल्डबुट भनिन्छ। यो सामान्य बुट हो। यसमा कम्प्युटरमा बिच्छेद गरिएको बिद्युत प्रणालीलाइ जोडेर बुटिङ सुरु गरिन्छ।

 

Drive Name (ड्राइभको नाम)
 

ड्राइभ भन्नाले स्थायी भण्डारण एकाइका साधनहरु प्रयोग गर्न बनाइएका कम्प्युटरका एकाइहरुलाइ बुझिन्छ। हार्ड डिस्क प्रयोग गर्नकोलागि हार्ड ड्राइभहरु, फ्लपी डिस्कहरुकोलागि फ्लपी ड्राइभहरु, फ्लाश मेमोरीको लागि पेन ड्राइभहरु, सीडीको लागि सीडी ड्राइभ आदि यसका उदाहरणहरु हुन। यी ड्राइभहरुलाइ उल्लेख गर्ने तोकिएको नामहरुलाई ड्राइभको नाम भनिन्छ। सामान्यतया विन्डोजमा फ्लपी ड्राइभहरुलाई A:,  B: ले उल्लेख गरिएको हुन्छ भने त्यसपछिका अक्षरहरु C:,  D: हार्ड ड्राइभहरुलाई र त्यसपछिका अक्षर सीडी अनि पेन ड्राइभ तथा अन्य ड्राइभहरुलाइ तोकिएको हुन्छ।

 

Default Drive (डिफाउल्ट ड्राइभ)
 

कुनै ड्राइभको नाम उल्लेख नगरि निर्देशन दिँदा जुन ड्राइभलाइ असर गर्नेहो त्यो ड्राइभलाइ डिफाउल्ट ड्राइभ भन्ने गरिन्छ। त्यस्तो ड्राइभ सामान्यतया तत्कालमा प्रयोग भैरहेको ड्राइभ हुने गर्छ।
 

Command (निर्देशन)
 

कमाण्ड भन्नाले प्रयोगकर्ताले कम्प्युटरलाइ दिएको निर्देशनलाई बुझिन्छ। कम्प्युटरलाई निर्देशन दिँदा प्रयोगकर्ताले आफुखुसि दिन पाउदैनन् किनकि अझैसम्म कम्प्युटर सामान्य बोलिचालीको भाषा बुझ्न र प्रयोग गर्न सक्दैन। त्यसकारण कम्प्युटरलाइ कुनै काम अह्राउँदा उक्त काम अह्राउन प्रयोग गर्नुपर्ने शब्द तथा त्यसको नियमको बारेमा जानकारी हुनु पर्दछ। त्यस्तो निर्धारित शब्दलाइ कमाण्ड भनिन्छ भने कमाण्ड प्रयोग गर्न पालन गर्नुपर्ने नियम वा तरिकालाइ सिन्ट्याक्स भनिन्छ। उदाहरणकोलागि डसमा कुनै डाइरेक्टरीको फाइल लिस्ट माग्नु पर्दा कमाण्ड प्रम्प्टमा DIR कमाण्ड प्रयोग गर्नु पर्छ। आवश्‍यकता परेको खण्डमा DIR पछि कुन ड्राइभको, कुन डाइरेक्टरीको, कुन फर्म्याटमा जस्ता थप अप्सनहरु प्रयोग गर्न सकिन्छ।

 

Internal Command (आन्तरिक निर्देशन)
 

कुनैपनि अपरेटिङ सिस्टममा प्रयोगकर्तालाई पटकपटक आवश्‍यक परिरहने अतिआवश्‍यक निर्देशनहरुलाइ यसको कुनै मुख्यफाइलमानै निर्माण गरिएको हुन्छ जसले गर्दा बुटिङको अवस्थामा अपरेटिङ सिस्टम लोडहुँदानै उक्त कमाण्ड संचालन हुन आवश्‍यक निर्देशनहरु जडान भैसकेका हुन्छन् जसले गर्दा ती कमाण्डहरु प्रयोग गर्न कुनै छुट्टै कमाण्ड फाइलको जरुरत पर्दैन र सोझै आदेश दिन सकिन्छ। डस अपरेटिङ सिस्टमको कुरा गर्दा यसको command.com फाइलमा सबै आन्तरिक निर्देशनहरु राखिएको हुन्छ। dir, copy, vol, date, time आदि डसका आन्तरिक निर्देशनहरुका उदाहरणहरु हुन्।

 

External Command (वाह्य निर्देशन)
 

अपरेटिङ सिस्टममा प्रयोगकर्तालाइ थप सजिलो बनाउनको लागि आन्तरिक निर्देशनहरु बाहेक पनि केहि थप कमाण्डहरु निर्माण गरिएको हुन्छ जसलाइ अपरेटिङ सिस्टमको मुख्य फाइलमा समावेश नगरि कुनै नयाँ फाइलको रुपमा वितरण गरिन्छ। त्यस्ता कमाण्डहरुलाइ वाह्य निर्देशन भनिन्छ। माइक्रोशफ्ट डसमा Tree, Format, Move, Label, Fdisk आदि वाह्य निर्देशनहरु प्रयोग गर्न सकिन्छ।

 

 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 203 guests online

Sharing Enriches!

You are here: Home